Neednepal Tv
02/06/2026
दूधको गुणस्तर सुधार हुँदैछ, अनुगमन अझ कडा बनाउँछौँ : उपप्रमुख अर्याल
मिसावट नियन्त्रणपछि डेरी क्षेत्रमा सुधारको दाबी, गुणस्तरीय उत्पादनमा जोड
बुटवल,
२६ औँ विश्व दुग्ध दिवसको अवसरमा रुपन्देही डेरी व्यवसायी समितिको आयोजनामा डेरी सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सुरु भएको छ। बुटवल–८ श्रवणपथस्थित मेरिगोल्ड होटलमा सुरु भएको दुईदिने कार्यक्रम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा डेरी व्यवसायको गुणस्तर सुधार, दुग्धजन्य उत्पादनको सुरक्षित व्यवस्थापन, व्यवसायीको क्षमता अभिवृद्धि तथा उपभोक्तालाई स्वच्छ र गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले डेरी क्षेत्रको अनुगमनलाई अझ प्रभावकारी र तीव्र बनाइने बताइन्। उनले विगतका अनुगमनका क्रममा केही डेरी उद्योग तथा दूध आपूर्तिकर्तामाथि कारबाही गरिएको स्मरण गराउँदै त्यसपछिका प्रयासले दूधको गुणस्तरमा उल्लेखनीय सुधार देखिएको दाबी गरिन्।
उनले कतिपय डेरी उद्योग तथा सहकारी संस्थाबाट उत्पादित दूध गुणस्तरीय भेटिएको जानकारी दिँदै आगामी अनुगमनमा सञ्चारकर्मीलाई समेत सहभागी गराइने बताइन्। बजारमा बिक्री हुने सबै प्रकारका खाद्य वस्तुको नियमित अनुगमन गरिने र लेबलविहीन घ्यू भेटिए जफत गरिने चेतावनी दिँदै उनले अनुगमन अभियानमा व्यवसायी तथा समितिको सहयोग आवश्यक रहेको उल्लेख गरिन्। गुणस्तरीय दुग्ध उत्पादन र उपभोक्ता हितका लागि उपमहानगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर अध्यक्ष समुन्द्र जिसीले अनुगमनअघि केही दूध तथा दुग्धजन्य पदार्थमा मिसावट देखिए पनि हाल अवस्था सुधार हुँदै गएको बताए। उनले उपभोक्तालाई ढुक्क भएर दूध सेवन गर्न आग्रह गर्दै उपभोक्ताको अधिकारको सम्मान गर्न सबै व्यवसायीलाई आग्रह गरे।
रुपन्देही डेरी व्यवसायी समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले केही नमुनामा गुणस्तर समस्या देखिए पनि सम्पूर्ण दुग्ध क्षेत्र नै असुरक्षित रहेको सन्देश जाने गरी प्रचार हुँदा किसान, व्यवसायी र उपभोक्ता सबैमा अनावश्यक त्रास फैलिएको बताए। उनले दूध उत्पादनको स्रोत तहदेखि नै अनुगमन र किसानलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै दूधको गुणस्तर सुधारका लागि सबै सरोकारवालासँग सहकार्य गर्न डेरी व्यवसायी समिति तयार रहेको स्पष्ट पारे।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराईले दूधको गुणस्तर सुधार राष्ट्रिय दायित्वको विषय भएको उल्लेख गर्दै सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।
समितिका लेखा समिति संयोजक कृष्णप्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेले गरेका थिए भने सञ्चालन सचिव यामप्रसाद शर्माले गरेका थिए। कार्यक्रममा डेरी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसैबीच विश्व दुग्ध दिवसकै अवसर पारेर नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामी, कुरुवा तथा सर्वसाधारणलाई निःशुल्क दूध, दही, मोही तथा लस्सी वितरण गरेको छ।
कार्यक्रममा एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले दुग्धजन्य पदार्थ ढुक्कसँग सेवन गर्न आग्रह गर्दै नेपाली दूध तथा दुग्धजन्य उत्पादन सुरक्षित र पोषणयुक्त रहेको बताए। प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले दूधको पोषण, स्वास्थ्य तथा आर्थिक महत्वबारे प्रकाश पार्दै तथ्यहीन हल्ला र अफवाहको पछि नलाग्न उपभोक्तालाई आग्रह गरे।
विश्व दुग्ध दिवसका अवसरमा आयोजित कार्यक्रमहरूले दुग्ध क्षेत्रप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्नुका साथै गुणस्तरीय उत्पादन, प्रभावकारी अनुगमन र व्यवसायी–उपभोक्ता–सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Rupandehi
Butwal
32900